मेलम्चीको फोहोर व्यवस्थापनमा उदासिनता
Posted on: Aug 25, 2017


रासस

मेलम्ची - सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाबाट संकलित फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा मेलम्ची बजार निकै दुर्गन्धित हुन थालेको छ । मेलम्ची नगरबाट संकलन भएको फोहोरको व्यस्थापन राम्रो नभएकाले धेरै समस्या भोग्नु परेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । 

नगरबाट संकलन भएको फोहोर जथाभावी नदी किनारमा फाल्दा र सार्वजानिक स्थानमा फोहोरको थुप्रो लाग्दा वातारण प्रदूषित मात्र नभएर विभिन्न रोगको समेत प्रकोप फैलन थालेको छ । 

मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयवासीले आरोप लगाएका छन् । २०७३ साल साउनमा तत्कालीन नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहोर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा रु तीन लाख बजेट विनियोजन गरी फोहोर फाल्ने खाल्डो बनाएका थिए । 

नगरपालिकाजस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहोरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयवासीले सर्वत्र विरोध गरेका थिए । बस्ती नजिकै फोहोरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयवासीले नदीको किनारमा फोेहोरको खाल्डो खनेको प्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहोर फाल्न दिएका थिएनन् । 

स्थानीयवासीले खाल्डो खन्नमा लगानी भएको रु तीन लाख व्यर्थमा गएकाले उक्त रकम तत्कालीन नगरपालिका प्रमुखबाट उठाउनुपर्नेसमेत माग राखेका थिए । खाल्डो प्रयोगविहीन भएको र खाल्डो बनाउन लागेको रकमसमेत हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका थिए । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि गाडी उपलब्ध भएपनि अहिले उक्त गाडी प्रयोगविहीन भएको छ । 

मेलम्ची नगरपालिकाका बासिन्दा चित्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “गाडी आएको केही महिना फोहोर उठाए पनि नगरपालिकाले अहिले फोहोर उठाउन छोडेको एक वर्ष भएको छ । बजारको चोकचोकमा फोहोरको थुप्रो छ, फाल्नका लागि नगरपालिकाले चासो नदिँदा रुघाखोकी, आउँ, हैजा, औलोजस्ता सरुवा रोगको प्रकोप बढेको छ ।” 

मेलम्चीका अर्का स्थानीय पत्रकार देवराज सुवेदीले फोहोरको कारण बजारको स्वरुप नै कुरुप भएको बताउनुभएको छ । फोहोर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दा समेत बेवास्ता गरेको र छिटोभन्दा छिटो फोहोर व्यवस्थापनमा गर्नेतर्फ नगरपालिका लाग्नुपर्ने सुवेदीले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहोर राख्ने ठाउँ बनाए पनि नगरपालिकाको गाडी अहिलेसम्म फोहोर लिन नआएको मेलम्ची नगरपालिका–१० शिखरपुरका स्थानीयवासी हेमराज खतिवडा बताउँछन् । 

फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रकोे खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ । मेलम्चीमा इन्टरनेट, वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहोर व्यस्थापनलाई दिनुपर्नेमा मेलम्चीका अर्का स्थानीयवासी तुलाराम दाहालले बताए । 

दाहालका अनुसार फोहोरको व्यस्थापन नहुँदा नदी धेरै दुर्गन्धित भएको र फोहोरले मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । बजारबाट संकलित फोहोर अहिले सिधै नदीमा मिसाउँदा बजारको तल्लो भेगमा बस्नेले सोही पानीलाई खानेपानीका रुपमा पिउन बाध्य छन् र यसको रोकथाम हुनुपर्ने दाहालको माग छ । 

फोहोर व्यवस्थापनका लागि बजेट विनियोजन भएपनि फोहोरको व्यवस्थापन गर्न नसकेको कुरा मेलम्ची नगरपालिकाका हाल कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले स्वीकार गर्नुभएको छ । दुलालले फोहोर व्यवस्थापनका लागि डम्पिङ क्षेत्रको खोजी तथा अवलोकन भइरहेको जानकारी दिए । 

मेलम्चीमा फोहोर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिदै आएको स्थानीयवासी बताउँछन् । नाम नबताउने शर्तमा एक स्थानीयवासीले भने फोहोर व्यवस्थापनका लागि १२ महिनाअघि देखि नगरपालिकामा कुरा राख्दासमेत आश्वासन मात्र दिएर फर्काउने गरेका छन् । नगरपालिका कार्यालयभित्र हुँदा फोहोर व्यवस्थापन भोलिबाट नै शुरु हुन्छ भने पनि हालसम्म फोहोर व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले कुनै कार्ययोजना नबनाएको स्थानीयबासी बताउँछन् ।


 


Comments