रेडियो मेलम्चीको अध्यक्षमा डम्बर रसिक
Posted on: Jul 31, 2018


सामुदायिक सञ्चार अभियान नेपालद्वारा सञ्चालित रेडियो मेलम्चीको सञ्चालन समिति साउन ११ गते पुनर्गठन भएको छ । पुनर्गठित सञ्चालन समितिको अध्यक्षमा डम्बर रसिक भारती चयन हुनुभएको छ । 
यसअघिका अध्यक्ष सरोज ढुंगाना व्यस्तताका कारण प्रमुख भूमिकाबाट बिदा लिनु भएको छ । समितिको सदस्य सचिवमा रेडियोको स्टेशन म्यानेजर रहने व्यवस्थाअनुरुप देवराज सुवेदी रहनुभएको छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्थाअनुसार सरोज ढुंगाना सदस्य हुनुहुन्छ भने जनक अधिकारी र कृष्णप्रसाद धितालमा समितिको सदस्य चयन हुनुभएको छ ।
नवगठित सञ्चालक समितिको साउन १२ गते बैठक बसी केही महत्वपूर्ण निर्णय गरिएका छन् । रेडियो सहजै सुन्ने बनाउनका लागि दुई महिनाभित्र २० फीट टावर थपी चारवटा एन्टेना थप्नुका साथै यान्त्रिक अवस्था दुरुस्त राखी प्रशारण स्तरीय बनाउने निर्णय गरिएको अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । समुदायसँग नजिक रहनका लागि प्रशारण पहुँच भएका स्थानीय तहसँग समन्वय गरी वडागत रुपमा सार्वजनिका सुनुवाइ कार्यक्रम गरिने निर्णय पनि भएको छ । मेलम्ची नगरपालिकासँगको समन्वयमा नगरका कामलाई पारदर्शी तथा जनउत्तरदायी बनाउन भदौदेखि ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ ।
मेलम्ची क्षेत्रमा समुदायलाई सूचना, सन्देश र मनोरञ्जन प्रदान गर्दै आइरहेको रेडियो मेलम्ची २०६९ माघ १० गतेदेखि प्रशारणमा आएको हो ।


Comments