निरन्तर झरीका कारण सिन्धुको जनजीवन प्रभावित
Posted on: Aug 06, 2018


२१ साउन,मेलम्ची । 

शनिबार रातिदेखि लगातारको झरीका कारण सिन्धुवासीको जनजीवन प्रभावित भएको छ । विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएका छन् भने कतिपय बस्ती पनि जोखिममा परेका छन् । 
मेलम्ची नगरपालिका ९, सिम्लेबेँसीको इन्द्रावती तेश्रो जलविद्युत् केन्द्र पहिरोको उच्च जोखिममा परेको छ । साढे ७ मेगावट क्षमताको हाइड्रो पावरको सर्जट्याङ्कभन्दा माथिबाट बगेको पहिरोले विद्युत्गृहको अगाडि रहेको बगैंचा लेदो माटोले पुरिएको छ ।  पहिरोको कारण मेलम्ची–भोताङ सडक खण्डमा पर्ने सो स्थानमा यातायात सञ्चालन गर्न कठिनाइ भएको छ भने पैदल यात्रुलाई पनि सास्ती भएको छ । पहिरो नियन्त्रणका लागि समयमै संम्बन्धित निकायले आवश्यक पहल नगरे ठूलो क्षति हुने देखिएको छ । स्थानीय केशरबहादुर कुँवरले १० रोपनी जग्गामा लगाउनुभएको अलैंची पनि नष्ट भएको हाइड्रोपावरका कर्मचारी सन्तोष भण्डारीले जानकारी दिनुभएको छ ।
पछिल्लो अबस्थामा जुरे पहिरो र भूकम्पपछि धरातलीय संरचना कमजोर भएकाले जिल्लाका अधिकांश ठाउँमा सामान्य पहिरो आएकाले बाटो अबरुद्ध हुने गरेको, यात्रा गर्दा एक दुई घण्टा जाम पर्ने गरेको  साथै जिल्लामा  दिनहुँ बाढीपहिरोका कारण दैनिक समस्या पर्ने गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रजिअ अधिकारीले बाढीपहिरोका कारण घरमा बस्न नसक्ने अवस्थाका पीडित भएमा स्थानीय तहको सिफारिस र प्रहरी कार्यालयको निवेदनको आधारमा बढिमा १० हजार दिने प्रावधान रहेको बताउनुभयो ।

 


Comments