१ सय ३२ दिन मन्त्री हुँदा शेरबहादुर तामाङको सम्पत्ति ८५ हजार घट्यो
Posted on: Aug 06, 2018



शेरबहादुर तामाङ कानुनमन्त्री हुँदा ८५ हजार सम्पत्ति घटेको छ। उनी १ सय ३२ दिन मन्त्री भएका थिए।

बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरेका छात्राहरुको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा आएपछि तामाङले साउन ९ गते पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएको १३ दिनपछि सोमबार पत्रकार सम्मेलन गरी मुलुकलाई भ्रष्टाचारमुक्त गरी समृद्धिको दिशातर्फ अगाडि बढाउनका लागि विधि स्थापित गर्न भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

राजनीतिक नियुक्ति र सार्वजनिक पदबाट अवकाश लिएको १५ दिनमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भन्ने प्रस्ताव गर्दै पूर्व कानुनमन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरण र आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८४ हजार ९ सय ४२ रुपैयाँ अन्तर देखिएको छ। मन्त्री भएपछि उनले सार्वजनिक गरेको र बुझाएको सम्पत्ति विवरणमा एभरेष्ट बैंकमा १ लाख २८ हजार ९ सय ४२ रुपैयाँ मौज्दात रहेको उल्लेख थियो। आज सार्वजनिक गरेको सोही बैंकमा भने ४३ हजार ९ सय ६७ रुपैयाँमात्र भएको उल्लेख छ।

बैक खातामा रहेको रकमभन्दा बाहेकका अन्य सम्पत्ति भने घटबढ नभएको तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखिन्छ। ’अरु चलअचल सम्पत्ति घटबढ भएको देखिँदैन’, उनले पत्रकार सम्मेलनमा भने, ’बैंकमा रहेको सम्पत्ति भने घटेको देखिन्छ।’

तामाङ केपी ओली नेतृत्वको सरकारमा १ सय ३१ दिन मन्त्री भएका थिए। गत चैत्र २ गते मन्त्री भएपछि उनले सबैभन्दा पहिला चैत ५ गते नै पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।

तामाङले आफू मन्त्री छँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति सार्वजनिक गर्ने कानुन अगाडि बढाएको जानकारी दिए। ’हाल मन्त्रिपरिषद्मा रहेको सो कानुन तत्काल मन्त्री परिषद्बाट पारित गरी संसदमा पेश गरिनेछ भन्ने विश्वास लिएको छु’, पूर्वकानुनमन्त्री तामाङले भने।


Comments