​खानेपानी हस्तान्तरण कार्यक्रम सम्पन्न
Posted on: Sep 03, 2018


शुशिल आचार्य भदौ १८ मेलम्ची । मेलम्ची नगरपालिका १०, शिखरपुरमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकद्वारा निर्मित तीन खानेपानी योजना निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ । माथिल्लो क्यामुने, अँधेरी जल्केनी, भूमेस्थान माझीगाउँ खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि आज समुदायलाई हस्तान्तरण गरिएको हो । खानेपानी आयोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले समुदाय आफँैले खानेपानीको  संरक्षण  र सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेलले भूकम्पपश्चात स्थानीयलाई परेको खानेपानीे समस्याप्रति चिन्तित हुँदै आयोजनाको निर्माण गरिएको र आगामि दिनमा खानेपानीको संरक्षण र संदुपयोग गर्ने जिम्मा स्थानीयको भएको बताउनुभयो । माथिल्लो क्यामुने खानेपानी योजना ३० लाख २९ हजार ६३३ रुपैया लागतमा सम्पन्न भएको छ, यसबाट १ सय २८ घरधुरी लाभान्वित भएका छन् । अँधेरी जल्केनी खानेपानी योजना २० लाख ५४ हजार ७५१ रुपैँया लागतमा सम्पन्न हुँदा ३८ घरधुरी लाभान्वित हुनेछन् भने भूमेस्थान माझीगाउँ खानेपानी योजना २४ लाख ९३ हजार ५५ रुपँैयामा सम्पन्न भएपश्चात ५६ घरधुरी लाभान्वित हुनेछन् । मेलम्ची नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर खड्काले खानेपानी आयोजनाको समयमै निर्माण सम्पन्न गरी स्थानीय समुदायलाई राहत पु¥याएकोमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकलाई धन्यबाद ज्ञापन गर्नुभयो । योजना सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउने रुपेन्द्र ढकाल र विराट ढकाललाई सम्मान गरियो । योजनाको अगुवाइ गर्ने प्रेम चापागाईं, रामशरण महरा, गणेश रिजाल लगायतलाई कदरपत्र प्रदान गरियो ।


Comments