हेलम्बुको महांकाल स्वास्थ्य चौकी भवन हस्तान्तरण
Posted on: Sep 07, 2018


सागर खड्का भदौ २२, मेलम्ची ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५, को  महांकाल स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा बर्थिङ सेन्टरको आज उद्घाटन भएको छ । भवन जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको समन्वयमा बनेको हो । कुल ७४ लाख ६७ हजार ९३० रुपैंया लागतमा प्रि फेब्रिकेटेड प्रविधिको चार कोठे स्वास्थ्य चौकी भवन र दुई कोठे कर्मचारी आवास गृह हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाभित्र वार्षिक सरदर चार सय महिलाहरु प्रसुति भएकामा पाँच जना मात्र बर्थिङ सेन्टरमा प्रसूति हुनु दुःखको कुरो भएको बताउनुभयो । गाउँपालिकाले बर्थिङ सेन्टरमा प्रसूति हुने महिलाहरुका लागि सरकारी प्रोत्साहन भत्तामा थप ३ हजारको व्यवस्था गरेको र निःशुल्क एम्बुलेन्स सेवा पनि रहेकाले बर्थिङ सेन्टरमै प्रसूति गराउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य चौकीमा प्रसूति हुन आउने महिलाका लागि छिट्टै निःशुल्क खानेबस्ने व्यवस्था गरिने जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेलले मेलम्ची, जलबिरे र बाह्रबिसेमा अत्याधुनिक सुविधासहितको ३ वटा एम्बुलेन्स सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा सभापति ताल्चाभँडेलले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वडा अध्यक्ष हर्कबहादुर तामाङ र स्वास्थ चौकीको जग्गादाता सार्की तामाङलाई रेडक्रसको आजीवन सदस्यता प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले जिल्लाको हेलम्बु गाउंँपालिकामा ४, पाँचपोखरी थाङपाल गाउँपालिकामा ६, इन्द्रावती गाउँपालिकामा १ र मेलम्ची नगरपालिकामा ३ गरि १४ वटा प्रि फेब्रिकेटेड प्रविधिको स्वास्थ्य चौकी निर्माणको काम भैरहेको र पुस मसान्तसम्ममा  निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिने पनि जानकारी दिएको छ ।

हेलम्बु गाउँपालिका ५ का वडा अध्यक्ष हर्कबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 


Comments