​मेलम्ची–धाप सडकका लागि ६४ करोड बजेट विनियोजन, ठेक्का प्रक्रिया शुरु
Posted on: Sep 29, 2018


सागर खड्का असोज १३ मेलम्ची ।  सिन्धुपाल्चोकको मेलम्चीदेखि थाङपालधापसम्मको १५ किलोमिटर सडक खण्डको  लागि ६४ करोड बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको छ । बहुवर्षीय योजना अन्तर्गत मेलम्चीदेखि धापसम्मको सडक खण्डलाई फराकिलो पारी स्तरोन्नति गर्ने काम हुने डिभिजन सडक कार्यालयले जनाएको छ । 
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले पाँचपोखरी क्षेत्रको मेलम्ची–भोताङ मोटरबाटो मेरुदण्ड जस्तै  भएको र यस बाटोे निर्माणका लागि धेरै पटक जनताको बीचमा प्रतिबद्धता प्रकट गरे अनुरुप  बहुवर्षीय योजनाको रुपमा बजेट विनियोजन गराउन सफल भएकामा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले प्रतिबद्धता गरे अनुरुप धाप–भोताङ सडक खण्डको लागि बजेट व्यवस्थापन गर्ने, मेलम्ची, केउरिनी , बाँसखर्क, बरुवा, याङ्री बाटोलाई अहिले परेको ४ करोड बजेटमा अझै थप गर्ने, दुवाचौर, बाँसखर्क, बरुवा बाटोलाई थप बजेट ब्यबस्था गर्नुका साथै पाँचवटा पक्कीपुल र पाँचपोखरी केवलकार निर्माणका लागि पहल भइरहेको  पनि जानकारी दिनुभयो । 
बर्षातको समयमा पैदल आवतजावत गर्न समेत मुश्किल पर्ने सो सडक खण्डको स्तरोन्नति भएसँगै मेलम्ची नगरपालिकाको ज्यामिरे लगायत पाँचपोखरी थाङपाल गाउँपालिकाका करिब २० हजार स्थानीयलाई यातायातको सहज सुविधा पुग्नेछ ।


Comments