​जुवातास र मादकपदार्थ माथि प्रतिबन्ध
Posted on: Oct 01, 2018


सागर खड्का असोज १५ मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ को सर्वोदय माध्यमिक बिद्यालयको सयपत्री बाल क्लबले बिद्यालय वरपरको क्षेत्र भित्र मदिरा उत्पादन गर्ने, चाडपर्वको नाममा जुवातास खेलेर समाजमा बिकृति फैलाउने जस्ता कार्य गर्ने गराउनेलाई कारवाहि गर्ने भएको छ । मदिरा उत्पादन, बिक्री वितरण तथा सेवन गरेको पाइएमा ५ हजार र जुवातास खेल्ने र खेलाउनेलाई १० हजार सम्म जरिवाना तोकिएको छ  । सबै मिलेर गरौ समस्याको सामना, जुवातास, मद्यपान मुक्त समाज हाम्रो चाहना भन्ने नारा सहित सो अभियान सुरु गरिएको क्लवकी अध्यक्ष मिरा तामाङले बताउनुभयो । बिद्यार्थीहरुका यस्ता असल अभियान लाई सदैव  साथ सहयोग गर्ने बिद्यालयका प्र.अ. भरत कार्की ले प्रतिबद्धता ब्यक्त गर्नुभयो । 
यस्तै जिल्लाकै पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं.१ बाँसखर्कमा पनि मादकपदार्थ उत्पादन तथा वितरणलाई न्युनिकरण अभियान चलाईएको छ । जस अन्र्तगत तामाङ समुदायको सामाजिक परम्परा तथा संस्कार अन्तर्गत घ्यावामा प्रति घरधुरी अनिवार्य ४ माना रक्सी लैजानु पर्ने चलनको अन्त्य गर्दै रक्सीको सट्टामा चिसो पेय पदार्थ वा जुस को प्रयोग गरीने वडाको सर्वपक्षिय भेलाले सर्वसम्मत निर्णय गरेको छ । मादकपदार्थ उत्पादन तथा विक्री वितरणमा न्युनिकरण आएमा समाजमा हुने हिंसा तथा अपराधमा कमि आउने वडा अध्यक्ष सुर्यमान दोङले विश्वाश ब्यक्त गर्नुभयो ।


Comments