​मेलम्चीका अधिकांश पसल दर्ताबिना सञ्चालनमा
Posted on: Oct 04, 2018


असोज १८ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा  सो कुरा पाइएको हो । चाडबाड नजिकिएसँगै नगरले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन गरिएका ५ सय ५५ व्यवसायमध्ये तीस प्रतिशत नगरपालिकामा र चालीस  प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको अनुगमन समितिका संयोजक रामबहादुर लामाले जानकारी दिनुभयो । प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो गरेको पनि लामाले जानकारी दिनुभयो । व्यवसायीले  भने कर मात्र लिएर नगरले कुनै सुबिधा नदिएको गुनासो गरेका छन् । तालामाराङका व्यवसायी रामकृष्ण देउजाले सहुलियत केही नदिई नगरले कर मात्र लिएको गुनासो गर्नुभएको हो । त्यस्तै अर्का व्यवसायी दिपबहादुर पण्डितले स्वरोजगार भई अगाडि बढ्न खोज्नेलाई नगरले सहुलियत केही नदिई कर मात्र लगाएर दुःख दिएको आरोप लगाउनुभएको छ । नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए पाँच हजार जरिवाना गरिने जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाले अनुगमनलाई निरन्तरता दिई व्यवसायलाई करको दायरामा ल्याउनुका साथै मूल्यसूची र गुणस्तरीय सामान विक्रीमा जोड दिने जानकारी दिएको छ ।


Comments