​आयोजक पाँचपोखरीलाई लगातार दोश्रो पटक उपाधि
Posted on: Nov 19, 2018


सागर खड्का ,३ मंसिर, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा बिहिबारबाट सुरु भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाँचपोखरी क्रिकेट क्लबले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको वाह्रविसेले अल आउट हुदैँ प्रतियोगिताभरीकै सबैभन्दा कम स्कोर मात्र ३६ रन बनाएको थियो । ३७ रनको झिनो लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको आयोजक पाँचपोखरी क्रिकेट क्लबले मात्र २ ओभर ३ बलमा २ विकेट गुमाउदै लक्ष्य पुरा गर्दै ५ विकेटको जित निकालेको छ । फाइनल खेलको म्यान अफ दि म्याच बिजय धिताल घोषित हुनु भएको थियो । प्रतियोगितामा जिल्लाका ९ टोलीको सहभागीता रहेको थियो । । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी हातपारेको  छ । उपविजेता बाह्बिसेले ३० हजार नगद सहित ट्रफी मा चित्त बुझाएको छ । 
प्रतियोगिताको फास्ट बलर अजय धिताल घोषित हुनुभयो उहाँले खेल अवधिभर १० विकेट लिनुभएको थियो । त्यस्तै बेस्ट ब्याट्स म्यान भोताङ छोलीङ क्रिकेट क्लबका रमेश तामाङ घोषित हुनुभयो । उहाँले प्रतियोगिता भर १४२ रनको योगदान पुर्याउनुभएको थियो । त्यस्तै इमर्जिङ प्लेयरमा थाङ्पालधाप क्रिकेट क्लबका सार्थक धिताल घोषित हुनुभयो । म्यान अफ दि सिरिजमा आयोजकका टिम क्याप्टेन विजयकुमार धिताल घोषित हुनुभयो ।
प्रतियोगिताको बिजेता तथा उत्कृष्ट खेलाडिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल शरद र विशेष अतिथि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री  दुलालले आगामी बर्ष पाँचपोखरी थाङ्पाल गाउँपालिकामा मिनि क्रिकेट रङ्गशाला निर्माणका लागि आबश्यक बजेट बिनियोेजन गर्ने प्रतिबद्धता  गर्नुभयो । उहाँले खेलाडिहरुको व्यावसायिक जीवनको सुरक्षाका लागि  प्रदेश सरकार सचेत रहेको बताउनुभयो । मन्त्री दुलालले अबको पाँच बर्षभित्र देशले काँचुली फेर्ने दाबी गर्नुभएको छ । उहाँले अहिलेको सरकारले पनि देशमा परिबर्तन ल्याउन नसके कुनै पनि सरकारले ल्याउन नसक्ने भएकाले अहिलेकै सरकारबाट मात्र सम्बृद्धि सम्भव रहेको बताउनुभयो । कार्यक्रममा बिशेष अतिथि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले खेलाडीहरुलाइ शुभकामना दिँदै खेल र खेलाडीको विकासका लागि गाउँपालिकाले सधैँ साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।  


Comments