​सुरक्षित पानी र स्वास्थ्य सम्बन्धी कविता प्रतियोगिता सम्पन्न
Posted on: Nov 26, 2018


मंसिर १० मेलम्ची । मेलम्ची नगरपालिका ९ ज्यामिरेको गोल्मेश्वरी आधारभुत विद्यालयमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा आइतबार क्षेत्रगत कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नौलिङ्गेश्वरी आधारभुत विद्यालयका छात्रा सुस्मिता महत पहिलो, नौलिङ्गेश्वरी आधारभुत विद्यालयकै छात्र अनिल महत दोस्रो र जनता माध्यामिक विद्यालयका छात्र अनुषराज पाख्रिन तेस्रो भएका छन् । उक्त प्रतियोगितामा नौलिङ्गेश्वरी आधारभुत विद्यालय लाँगर्चे, जनता माध्यामिक विद्यालय ज्यामिरे र गोल्मेश्वरी आधारभुत विद्यालय ज्यामिरेका ३ छात्र र ३ छात्रा गरी ६ जनाको सहभागिता रहेको थियो । 
प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार स्वरुप पानी छान्ने फिल्टर तथा सरसफाइका सामाग्रीहरु उपलब्ध गराईएको मञ्चका कार्यक्रम अधिकृत विनोद शर्माले जानकारी दिनुभयो । साथै सहभागी विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सरसफाइका सामाग्रीहरु उपलब्ध गराइएको बताइएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनको विषयमा विद्यार्थीमा भएको ज्ञान र बुझाइको कविता मार्फत आदान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मञ्चले जनाएको छ । कारितास स्विटजरल्याण्ड, स्विस रेडक्रस र हेल्भेटास को आर्थिक सहयोगमा सञ्चालित सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुनस्थापना परियोजना अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको अधिकृत शर्माले जानकारी दिनुभयो । 


Comments