गिरानचौरः खुसी फर्केको एउटा गाउँ
Posted on: Jan 01, 1970


गिरानचौरः खुसी फर्केको एउटा गाउँ

गत वर्षको तिहारमा यो वस्तीमा एउटै दियो बलेन । भूकम्पले ढलेका भग्नावशेष छेउ जडान गरिएका छाप्रामाथिको आकाशमा त्यसबेला बादल मात्रै होइन निराशा पनि उडेको थियो । दुई वर्षअघिको विनाशकारी भूकम्पले थलिएको त्यही गाउँ गिरानचौरमा तिहारको रौनक पसेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली एकीकृत वस्तीको साँचो शुक्रवार हस्तान्तरण गर्दा दीपावलीको दुई दिन अघि तिनै मानिसहरुको मुहारमा सप्तरंगी कान्ति छायो ।  

निराशाले ढाकेको यो वस्तीमा अहिले एएटा सामुदायिक भवन सहित ६७ वटा चिटिक्क परेका घर छन् । कलाकार दम्पत्ती सिताराम कट्टेल र कुञ्जना घिमिरेको मनमा सेट भएको सुन्दर वस्तीको चित्र यथार्थमा उत्रिन सफल भएको छ । चिटिक्क परेका घरहरुलाई राष्ट्रिय झन्डाको रंग रातो, सेतो र निलोले सजाइएको छ । प्रत्येक घरसम्म पुग्ने मोटर बाटो, प्रत्येक घरमा सोलार बत्ती, प्रत्येक घरभित्रै धारो र चर्पी, घरसम्म पुग्न सकिने अपांगमैत्री बाटो, वरीपरी बगैंचा, ठाउँठाऊँमा चिल्ड्रेनपार्क अनि बस्तीको बीचमा गजबको सामुदायिक भवन चार महिनामा बनिसकेका छन् । 

 

राष्ट्रपति भण्डारीले वस्तीको साँचो शुक्रवार एकीकृत नमुना वस्ती ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् । त्यसबेला उनको मुखबाट फुत्कियो– ‘अव सपना पूरा भयो ।’ 

त्यस्तो भग्न वस्तीलाई सुन्दर गाउँ बनाउने सपना बोकेर चार महिनाअघि वर्षायाममा आएका थिए हास्यकलाकार धुर्मुस र सुन्तली । पुनर्निर्माणमा सहयोग जुटाउँदै आफैं सक्रिय भएका उनी पनि भन्दै थिए– ‘अब यो वस्तीमा होमस्टे सञ्चालनमा ल्याइनेछ र यो गाउँ पर्यटकीय गाउँ बन्नेछ ।’ प्रत्येक घरहरु उस्तै छन् । त्यसैले यहाँ न कोही गरिब छ न कोही धनी । ‘जातीयताको कुरा गरेर हैन एकीकृत वस्ती विकास गरेर समानता कायम गर्न सकिन्छ भन्ने यहाँ उदाहरण प्रस्तुत छ’ धुर्मुसले गर्विलो स्वरमा भन्दा गिरानचौरवासी ताली बजाउँदै थिए । 

वस्ती हस्तान्तरणको  औपचारिक कार्यक्रममा राष्ट्रपतिलाई साक्षी राखेका गिरानचौरवासीले धुर्मुस र सुन्तलीलाई भगवानकै रुपमा चित्रण गरे । कपाल सेतै फुलेका हर्कबहादुर तामाङले भने, ‘यो गाऊँमा देउता आएर घर बनायो ।’ उनकैजस्तो उमेरका अन्य चार जना वृद्धहरुले नयाँ घरमा पस्नै नपाई मृत्युवरण गरे । भूकम्पले घर भत्केपछि सारा जिन्दगी भत्केको ठानेका थिए उनीहरुले र नयाँ घरमा बस्ने ठूलो धोको अधुरै रह्यो ।  ‘उहाँहरुको नयाँ घरमा बस्ने ठुलो रहर थियो तर यो चार महिनाभित्रै चार जनाको निधन भयो, उहाँहरको सपना अधुरै रह्यो’ भावुक हुँदै धुर्मुसले भने । 


वस्तीमा जनश्रमदान गर्न विदेशी देखि मुलुकका विभिन्न स्थानबाट स्वयंसेवीहरुको ओइरो लागेको छ । राष्ट्रपतिको आगमनमा मानव साङ्लो बनाउँदै गरेका क्विक भोलेन्टिएरका संयोजक अरुण खड्का भन्छन्, ‘हामी चार महिनादेखि खटिरहेका छौं, खानेकुरा सबैले घरबाटै ल्याएका छौं, हिजो पनि राती एक बजेसम्म काम गरेर सुतेका हौं ।’ धुर्मुस सुन्तली फाउन्डेसनलाई वस्ती बसाल्न सहयोग रकम प्रदान गर्नेहरु सबै नेपाली नै छन् । पुनर्निर्माणमा यो जतिको एकताको सन्देश दिने बिम्ब अरु के हुन सक्ला ? 

०००


गत असारको मध्य वर्षामा धुर्मुस र सुन्तलीको जोडी यो वस्तीमा पुग्दा पानी झमझम परिरहेको थियो । तर पनि उजाड लाग्दो लाग्थ्यो वातावरण । भूकम्पले छियाछिया पारेको वस्तीलाई वर्षाले जति सिंचित गरे पनि उजाड लाग्नु स्वभाविक थियो । भत्किएका घरहरुबाट निस्किएका ढुंगा र काठहरु असरल्ल नै थिए । भग्नावशेष पन्छाउने काम कताबाट सुरु गर्ने, कसरी गर्ने भन्नेमा सिंगो वस्तीवासी अनविज्ञ थिए । मानिसका अनुहार निचोरिएका थिए । मानिसलाई लाग्थ्यो, गिरानचौरको आकाशमा उड्ने बादलमात्र हैन निराशा पनि हो । 


यो निराशाले ढाकेको एउटा पहाडी वस्तीमा टेलिभिजनको पर्दामा देखिने हाँस्यजोडी एकाएक देखिंदा गिरानचौरका स–साना नानीहरु रमाइरहेका थिए । टहरोमा बस्ने ती अबोध नानीहरुका आँखामा प्रकट भएका धुर्मुस सुन्तलीको हाँस्यजोडी देख्दा लाग्थ्यो–यो सुदुर गाऊँमा कोही खुसीको झोला बोकेर आएको छ । र उसले झोलाबाट सिंगो गाऊँलाई बाँड्नेवाला छ एक–एक प्रति खुसीका बीऊहरु । 

ठीक आज, लगभग चार महिनापछि उसै भुमिमा पुग्दा उनै अबोध नानीहरु भेटिए । उनीहरुका अगाडि न जाडोमा कठ्यांग्रिनु पर्ने चिसो टहरो थियो न त आकाशमा रुमल्लिरहेका निराशाका बादलहरु । उनीहरुको अगाडि त थियो, सुरक्षित भविष्य अटाउने चिटिक्कको सुन्दर घर, अनि आफ्नो बालापनको तिर्खा मजाले मेट्न पाउने आधुनिक चिल्ड्रेनपार्क । 

यो वस्तीको ऐतिहासिक दिनलाई उत्सवमा बदल्न वस्ती आसपासबाट आएका हजारौं मानिसले मुलुकको अभिभावक राष्ट्रपतिको आतिथ्यता पाएका छन् । जीवनको छ दशकभन्दा बढि समय काटिसकेका बस्तीका केही ज्येष्ठ नागरिकको मुहारमा कान्ति छ । यति ठूलो पदमा रहेको मानिसलाई आफ्नो वस्तीमा देख्न पाउँदा गिरानचौरबासीलाई खुसी लाग्नु स्वभाविकै हो । राष्ट्रपतिको हातबाट बस्तीको साँचो पाएका गिरानचौर नमुना एकीकृत वस्ती व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङलाई जीवनकै ऐतिहासिक दिन लागिरहेको छ । ‘हाम्रो सपना आज पुरा भएको छ’, हर्षको भावभंगीसहित उनी सुनाउँछन् । 


६५ घरधुरीको एकिकृत वस्ती बसाल्दा त्यहाँको सामाजिक र साँस्कृतिक पक्षलाई ध्यान दिन उतिकै जरुरी थियो । यसका लागि त्यहाँका समुदायको भूमिका अति महत्वपूर्ण छ । प्रत्येक घरधुरीबाट एक जनाले दिनहुँ जनश्रमदान मात्र गरेका छैनन् सबैले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग पनि गरेका छन् । यो वस्तीको सामाजिक एकीकरणमा रामबहादुर र उनको समितिका सदस्यहरुको योगदानलाई सिताराम कट्टेल स्मरण गर्छन् ।  


राजधानी काठमाडौंको सिमानासँग जोडिएको गिरानचौर बत्तिमुनिको अँध्यारो झैं पहाडी दुनियाँमा चुपचाप सुतिरहेको बस्ती थियो कुनैबेला । न सडक , न बत्ती , न विद्यालय । तामाङ समुदायको बाहुल्यता रहेको यस बस्तीमा शैक्षिक अवस्था पनि उति मजबुत थिएन । मानिसहरुलाई जीविकोपार्जन गर्न कठिन नै छ । बारीमा सिंचाईको ब्यवस्था छैन । यस्तो बस्तीमा भूकम्पको बज्रपात पर्दा बस्तीको अवस्था झन् कहाँपुग्यो होला ? यस्तो बस्तीलाई पुनर्जीवन मात्र हैन नवजीवन दिन आवश्यक थियो । 

वस्ती हस्तान्तरण कार्यक्रममा आइपुगेका कलाकार हरिवंश आचार्यकै भाषा सापट लिने हो भने धुर्मुस सुन्तलीले पुनर्निर्माण अभियानमा सरकारलाई निकै पछाडि पारेका छन् । एक जोडी कलाकारको अग्रसरतामा एउटा विशाल वस्ती चार महिनामै बनिसक्दा सरकारी पुनर्निर्माण अभियान भने कछुवा गतिमा छ । 

 

 


Comments