जनप्रतिनिधिलाई रेडियो मेलम्चीले बुझायो अपेक्षापत्र
Posted on: Jan 25, 2018


जनप्रतिनिधिलाई रेडियो मेलम्चीले बुझायो अपेक्षापत्र 


माघ १०, मेलम्ची

आजबाट छैंटौ वर्षमा प्रवेश गरेको रेडियो मेलम्चीले आफ्नो वार्षिकोत्सव मनाउँदै जनप्रतिनिधिहरुलाई अपेक्षा पत्र बुझाएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा सम्पन्न वार्षिकोत्सव समारोहको अवसरमा रेडियोले समुदायको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुखहरुलाई अपेक्षा पत्र बुझाएको हो ।

 

आगामी पाँच बर्षमा यस क्षेत्रको सम्मुनत विकास, सुशासन र समृद्धीका लागि नेतृत्व गर्ने अपेक्षा राखेर अपेक्षापत्र प्रदान गरिएको हो । अपेक्षा पत्र बुझ्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शेर बहादुर तामाङले आफुलाई यस्तो खाले अपेक्षा पत्रले दायित्वबोध गराइरहने र समृद्ध सिन्धुपाल्चोकको पक्षमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

त्यस्तै, प्रदेश सभा सांसद इन्द्रमाया गुरुङले अपेक्षा पत्रमा भएका कुरा आफुले अक्षरश पुरा गर्ने बचन दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले पनि स्थानिय तह जिम्मेवार भएर अघि बढ्ने बताउनुभयो । समुदायका समस्या, अप्ठ्यारा तथा आवश्यकताको सर्वेक्षण गरेर रेडियोले अपेक्षा पत्र तयार गरेको रेडियोका अध्यक्ष सरोज ढुंगानाले बताउनुभयो ।

 

कार्यक्रममा रेडियोलाई जग्गादान गर्ने जग्गादाता श्याम खड्कालाई सम्मान गरिएको थियो । रेडियोले अब सो जग्गामा आफ्नै भवन बनाउन इटा सहयोग अभियान सञ्चालन गर्ने उद्घोष गरे लगत्तै कार्यक्रममा सांसद शेर बहादुर तामाङले सांसद विकासकोषबाट १५ लाख रुपैंया सहयोग जुटाउने बचन दिनुभएको छ ।

 

कार्यक्रममा सहभागीले रेडियोले भुकम्पपछिको अप्ठ्यारो परिस्थितीमा समेत सूचना प्रवाह गरी लोकप्रिय रेडियो हुन सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रेडियोमा स्थापना कालदेखि नै निरन्तर विभिन्न विभागमा सक्रिय भएर काम गर्ने सञ्जय तामाङ, सुकुमाया तामाङ र सागर खड्कालाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । 


Comments