सार्वजनिक शौचालय प्रयोगविहीन
Posted on: Aug 05, 2018


चौतारा साउन २० ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित टुँडीखेलको सार्वजनिक शौचालय व्यवस्थित नहुँदा प्रयोगविहीन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले शौचालयको संरक्षण र सरसफाइमा ध्यान दिन नसक्दा यो अवस्थामा पुगेको हो  । टुँडीखेल वरपरका विभिन्न सरकारी कार्यालयमा आवतजावत गर्ने नागरिकहरु शौचालय भएर पनि खुला ठाउँमा दिसापिसाब गर्न बाध्य छन् । खुला शौचका कारण टुँडीखेल वरपरको क्षेत्र दुर्गन्धित बनेको छ । दुर्गन्ध फैलिनाले स्थानीयलाई त मुस्किल परेको छ नै शौचालयसँगैको बाल उद्यानमा जान पनि नागरिकहरुलाई कठिन भएको छ ।
टुँडीखेलमा भइरहेको एक कार्यक्रमका सहभागी चौतारा क्याम्पसका प्रमुख नगेन्द्र दंगाल सार्वजनिक शौचालयमा जान खोज्दा त्यहाँको अवस्थाका कारण जान सक्नुभएन । शौचालयको अवस्था देखेर उहाँले नगरपालिकालाई छिटो सुधार गर्न आग्रह गर्नुभयो । 
मानिसहरुको बाक्लो उपस्थिति रहने चौताराको टुँडीखेलमा सार्वजनिक शौचालयको अवस्थाबारे चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले थाहा नभएको बताउनुभयो । 


Comments