लगातार पानी पर्दा सिन्धुवासी प्रभावित
Posted on: Aug 08, 2018


 

२३ साउन, मेलम्ची । शनिबारदेखि लगातार पानी पर्दा सिन्धुपाल्चोकको धेरै ठाउँमा जनजीवन प्रभावित बनेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङको फाप्रेमा गएराति पहिरो जाँदा रबिन पुरी लगातयको ३ घर जोखिममा परेको छ । समाज सेवा समूहले निर्माण गरेको खानेपानी ट्याङ्की, धारा र पाइपमा क्षति पुगेको छ । पहिरोले मेलम्ची नगरपालिका ९ ज्यामिरे डाडांगाउंका इन्द्रराज खड्काको घर पनि जोखिममा परेको छ । भूकम्पपछि निर्माण भएको एक तले पक्की घर चर्किएर बस्न नहुने भएको छ । मेलम्ची ९ कै सिम्लेवेँशीको इन्द्रावती तेश्रो जलविद्युत केन्द्र पनि पहिरोको जोखिममा छ । साढे ७ मेगावट क्षमताको हाइड्रो पावरको सर्जट्याङ भन्दा माथि बाट खसेको पहिरोले हाइड्रोपावर जोखिममा परेको हो ।

जिल्लाको सुनकोशी गाँउपालिका ३ कालिकामा पनि पहिरोले ४३ घर उच्च जोखिममा परेको छ । स्थानीयहरु पहिरोको जोखिम बढेपछि खुला सुरक्षित ठाउँमा बसिरहेका जिल्ला समन्वय समितिका शाखा अधिकृत युगबहादुर खड्काले बताउनुभयो ।

मेलम्ची–नवलपुर–चौतारा सडक खण्डको विभिन्न ठाउँमा पहिरोलेले बाटो अबरुद्ध भएको छ । चौतारा बन्देउ सडक खण्डको पनि विभिन्न स्थानमा खसेको पहिरोले आज दिनभर यातायात अबरुद्ध भयो । बाढीपहिरोले भौतिक संरचना, सडक र  बस्तीहरु जोखिममा परे पनि मानवीय क्षति भने नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


Comments