हस्ताक्षर गरेर कार्यान्वयन नगरेकामा रोष प्रकट
Posted on: Sep 29, 2018


असोज १३ मेलम्ची 

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले शिक्षक तथा प्रधानाध्यापकहरुले गुणस्तरीय  शिक्षा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेर पनि त्यसको कार्यान्वयन नगरेकामा रोष प्रकट गर्नुभएको छ । नगर शिक्षा नीति तथा योजना निर्माण सम्बन्धि २ दिने गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नगर प्रमुख अर्यालले कार्यान्वयन गर्न नसक्ने भए हस्ताक्षर नगर्नू भन्दा पनि हस्ताक्षर गर्ने तर अहिले कार्यान्वयन किन भएन भन्ने प्रश्न गर्नुभयो ।
नगरभित्र विद्यालय बाहिर र निरन्तर बिद्यार्थी नआउने समस्या रहेकाले यसलाई निराकरण गर्नेगरी शिक्षा योजना बनाउने बताउनुभयो । भावनात्मक नभई कामकाजी हुन उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्देश्यबारे बताउँदै मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले विद्यालयहरुको तथ्याङ्क हालको अवस्था बुझेर निती तथा योजना बनाउने बताउनुभयो । त्यस्तै चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकामा खुसि ब्यक्त गर्नुभयो । 
चाइल्ड नेपालको सहजीकरणमा आजबाट सुरु भएको योजना गोष्ठिमा मेलम्ची नगरपालिकाभित्रका वडा अध्यक्ष, सदस्य , प्रधानाध्यपक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, स्रोत ब्यक्ति लगायत सरोकार वालाहरुको उपस्थिति रहेको छ । गोष्ठीको सहजीकरण शिक्षाविद् डा. बाबुराम ढुंगाना लगायतले गरिरहनुभएको छ । गोष्ठी भोलिसम्म चल्नेछ ।


Comments